काठमाडौं : अब स्वदेशी नागरिकले धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम शुल्क व्यवस्था लागू गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।
सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ र अन्य अन्तर्राष्ट्रिय पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। स्वदेशी नागरिकको हकमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
नयाँ शुल्क दर यही मङ्सिर ९ गतेदेखि लागू हुनेछ। यसअघि परीक्षणका रूपमा धरहरा चढ्न निःशुल्क व्यवस्था गरिएको थियो।
धरहराको प्रवेश शुल्क निर्धारणसँगै सरकारले संरचना व्यवस्थापन र पर्यटक आकर्षण वृद्धि गर्ने उद्देश्य राखेको छ। छुटको व्यवस्थाले विशेष वर्गका नागरिकलाई धरहरामा पहुँच थप सहज बनाउने विश्वास गरिएको छ।



