काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८१ मंसिर ६ देखि ७ गते (२१–२२ नोभेम्बर २०२४) सम्म भारतको मुम्बईमा आयोजित हाई लेभल पोलिसी कन्फ्रेन्स अफ सेन्ट्रल बैंक फ्रम द ग्लोबल साउथ मा सहभागी भएका छन्।
भारतीय रिजर्भ बैंकले आफ्नो स्थापनाको ९० औँ वर्षको अवसरमा आयोजना गरेको उक्त सम्मेलनमा ग्लोबल साउथका केन्द्रीय बैंकका गभर्नर, उच्च पदस्थ पदाधिकारी तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूका प्रतिनिधि सहभागी थिए।
१८ देशका सहभागीहरूको उपस्थिति रहेको सम्मेलनमा आर्थिक वृद्धि र मुद्रास्फीतिको सन्तुलन, मौद्रिक नीतिको सञ्चार, फिनटेक, डिजिटल बैंकिङ्ग, विदेशी विनिमय संचिति व्यवस्थापन, नियमन र सुपरिवेक्षण जस्ता विषयमा छलफल गरिएको थियो।
गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनको पहिलो दिन ब्यालेन्सिङ ग्रोथ एन्ड इन्फ्ल्यासन इन दि ग्लोबल साउथ विषयक प्यानल डिस्कसनमा भाग लिए। उनले नेपालजस्तो भूपरिवेष्ठित तथा स्थिर विनिमय दर भएको अर्थतन्त्रमा आर्थिक वृद्धि र मुद्रास्फीति सन्तुलनका सैद्धान्तिक पक्ष तथा नीतिगत सम्भावनाहरूबारे आफ्नो धारणा प्रस्तुत गरे।
उनले कोभिड–१९ र त्यसपछि विकसित भूराजनीतिक चुनौतीहरूबारे चर्चा गर्दै मूल्य स्थिरता, बाह्य क्षेत्र व्यवस्थापन र वित्तीय स्थायित्व सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकले चालेका कदमहरूबारे अनुभव बाँडे।
गभर्नर अधिकारीले यस्ता उच्चस्तरीय छलफलका मञ्चहरूले ग्लोबल साउथका मुलुकहरूबीच समन्वय र अनुभव आदान–प्रदानमा योगदान पुर्याउने बताए। साथै यस मञ्चको सफल आयोजना तथा समन्वयमा भारतीय रिजर्भ बैंकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
यस सम्मेलनमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक डा. गुणराज भट्टले पनि सहभागिता जनाएका थिए।



