काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय अवस्था संकटपूर्ण देखिएपछि नेपाल राष्ट्र बैंकले यस बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ।
नेपालगञ्ज स्थित यस विकास बैंकको निरीक्षण गर्दा राष्ट्र बैंकले तोकिएको पूँजीकोष अनुपात नपुगेको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको र वित्तीय सूचकांक कमजोर देखिएका कारण कारबाही गरेको हो।
कर्णाली विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ।
राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय सूचकांकमा सुधार गर्ने शर्तमा आजदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएर शीघ्र सुधारात्मक कारवाही गर्न निर्देशन दिएको छ।



