काठमाडौँ : आजभोलि आधुनिक प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रभाव मानिसहरूको जीवनमा धेरै नै बढेको छ। सामाजिक सञ्जालमा समय बिताउने क्रेज यति धेरै छ कि मानिसहरूले आफ्नो व्यक्तिगत जीवन र सम्बन्धलाई समेत बिर्सेर पोस्ट शेयर गर्नमै व्यस्त हुने गरेका छन्। तर सम्बन्ध र व्यक्तिगत जीवनसँग जोडिएका सबै कुरा सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हो? यसले सकारात्मकभन्दा नकारात्मक प्रभाव परिरहेको हुन सक्छ।
तसर्थ सम्बन्धको गोपनीयता कायम राख्न यी कुरामा ध्यान दिनुहोला:
१. झै–झगडाका कुरा शेयर नगर्नुहोस्
प्रत्येक सम्बन्धमा सामान्य झै–झगडा वा विवाद हुनसक्छ। तर त्यस्ता विषय सामाजिक सञ्जालमा पोस्ट गर्नु गलत हो। यसले आपसी समस्यालाई समाधान गर्नेभन्दा झन् जटिल बनाउन सक्छ। साथै, यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुर्याउन सक्छ।
२. महँगा उपहार नदेखाउनुहोस्
पार्टनरले दिएको महँगा उपहार सामाजिक सञ्जालमा पोस्ट गर्दा तपाईंले आफ्नो खुशी देखाउन खोज्नुभएको होलान्। तर, यसले अन्य मानिसमा ईर्ष्या वा गलत भावना पैदा गर्न सक्छ। साथै पार्टनरले यसलाई आफ्नो गोपनीयता तोडिएको रूपमा पनि लिन सक्छन्।
३. व्यक्तिगत फोटो पोस्ट नगर्नुहोस्
पार्टनरसँगको धेरै व्यक्तिगत फोटो सामाजिक सञ्जालमा शेयर गर्दा त्यसले तपाईंको सम्बन्धलाई नकारात्मक प्रभाव पार्न सक्छ। यस्ता तस्बिरहरू दुरुपयोग हुने सम्भावना पनि हुन्छ।
४. घुम्न जाने योजना गोप्य राख्नुहोस्
कुनै ठाउँमा घुम्न जाने योजना बनाउनु भएको छ भने त्यसको जानकारी सार्वजनिक नगर्नुहोस्। यसले तपाईंको व्यक्तिगत सुरक्षा र गोपनीयतामा खलल पुर्याउन सक्छ।
५. ब्रेकअपको कुरा सार्वजनिक नगर्नुहोस्
ब्रेकअप जस्तो संवेदनशील विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा मानिसहरूले तपाईंलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्न सक्छ। साथै पुनः सम्बन्ध सुधार हुने सम्भावनामा पनि अवरोध आउन सक्छ।
सामाजिक सञ्जाल हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनेको छ। तर, व्यक्तिगत जीवन र सम्बन्धसँग सम्बन्धित कुरा सोचविचार गरेर मात्रै पोस्ट गर्नु बुद्धिमानी हुनेछ। सम्बन्धको गोपनीयता र आपसी सम्मानलाई ध्यानमा राख्दै सामाजिक सञ्जालको सही प्रयोग गर्नुस्।



