काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पवन कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि यो जिम्मेवारी सुम्पिएको हो।
हालै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी छोडेका खड्काले बिमा, बैंक तथा कर्पोरेट क्षेत्रमा १८ वर्षभन्दा बढीको अनुभव बटुलेका छन्। बिमा क्षेत्रमा उनको नेतृत्व यात्रा साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरु भएको थियो।
सूर्य लाइफ इन्स्योरेन्सको सीईओका रूपमा २०७८ मा नियुक्त भएका खड्का, २०७९ मा सूर्य लाइफ र ज्योति लाइफको मर्जरपछि बनेको सूर्यज्योति लाइफमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहे। मर्जरपछि झण्डै दुई वर्षको कार्यकालपछि उनले सूर्यज्योति लाइफ छोडेर आईएमई लाइफ रोजेका हुन्।
बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका खड्काले हाइड्रो, शिक्षा, अडिटिङ, उत्पादन, प्रशोधन र वित्तीय परामर्शलगायत विभिन्न क्षेत्रमा काम गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्समा पनि उनले महत्वपूर्ण भूमिका निभाएका थिए।
आईएमई लाइफ इन्स्योरेन्सले यसपटक खुला प्रतिस्पर्धामार्फत सीईओ नियुक्त गरेको हो। खड्काका लागि कम्पनीको ब्राण्ड सुधार गर्दै शाखा विस्तारको चुनौती मुख्य प्राथमिकता हुनेछ।



