कात्तिक १९, बाँके : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ।
राति १२ः३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका हुनुहुन्छ भने चारजना सानिभेरी रुकुमका हुनुहुन्छ। हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताउनुभयो।
प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको बताउनुभयो। कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एक जना घाइतेलाई पनि आजै भेरीमै ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो।
उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिनुभयो। हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताउनुभयो।



