काठमाडौं : आज सोमबार देशका विभिन्न स्थानमा मौसम बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। गण्डकी र बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेशका पहाडी भूभागमा पनि हल्का वर्षाको सम्भावना छ।
त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि केही स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
रातको समयमा कर्णाली प्रदेशसहित सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी स्थानमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।
यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



