काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो र समस्याहरु सुन्न र समाधान गर्न नयाँ सेवा ‘हेल्लो हेल्थ’ सुरु गरेका छन्। यो सेवा नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै ‘हेल्लो हेल्थ’ सेवा सुरु गर्न निर्देशन दिएका थिए। मन्त्री पौडेलका अनुसार “हामी नागरिकले भोगेका स्वास्थ्यसम्बन्धी समस्याहरु तत्काल समाधान गर्ने प्रयासमा छौं। तपाईंले स्वास्थ्य सेवामा आएका समस्या हामीलाई जानकारी दिनुहोस्।”
अब नागरिकले विभिन्न माध्यमबाट स्वास्थ्यसम्बन्धी गुनासाहरु मन्त्रालयमा पठाउन सक्नेछन्। गुनासा टिपाउनका लागि उपलब्ध माध्यमहरू यसप्रकार छन्:
- टेलिफोन: १११५ मा फोन गरी गुनासा राख्न सकिन्छ।
- भाइबर र ह्वाट्सएप: ९८५१३३०५९२ नम्बरमा सन्देश पठाउन सकिनेछ।
- इमेल: hellohealth@mohp.gov.np
- हुलाक: मन्त्रालयले हुलाकमार्फत गुनासा पठाउने व्यवस्था पनि मिलाएको छ।
मन्त्रालयले गत मंसिर १४ गते प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाको संयोजकत्वमा गुनासा एकाइ गठन गरेको थियो। सोही एकाइले आवश्यक तयारी पूरा गरेर सेवा सुरु गरेको हो। एकाइमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी र शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य रहेका छन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसअघि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेको हटलाइन नम्बरमा अन्य माध्यमसमेत थप गरिएको छ। यसले नागरिकका गुनासो सुन्न र सम्बोधन गर्न अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
‘हेल्लो हेल्थ’ सेवा नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन एक महत्वपूर्ण पहलका रूपमा लिइएको छ।



