२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एडिबी टोलीद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन: १५ करोड डलर लगानी

images

  • २०८१ मंसिर २५, मंगलबार
  • 976
    SHARES
  • एडिबी टोलीद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन: १५ करोड डलर लगानी

    काठमाडौँ : एसियाली विकास बैंक (ADB) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेको छ।

    टोलीमा एडिबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सहभागी थिए।

    टोलीले आयोजनाका मुख्य संरचनाहरू जस्तै: १ सय ४० मिटर अग्लो बाँध, भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण र मुख्य सुरुङहरूको अनुगमन गर्‍यो। निर्माण व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै निर्माण प्रगतिसँगै समस्याहरू र समाधानका उपायहरूबारे जानकारी लिइएको थियो।

    प्रमुख चुनौती र प्रगतिः
    प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले टोलीलाई निर्माण प्रगति र जग्गा अधिग्रहणका समस्याबारे जानकारी गराए। टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन) मा पर्ने जग्गा अधिग्रहण, ऐलानी जग्गा व्यवस्थापन र वातावरणीय सुरक्षासम्बन्धी विषयहरूमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दियो।

    कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा यामको विद्युत् आपूर्ति व्यवस्थामा योगदान पुर्‍याउन आयोजना महत्वपूर्ण हुने बताए। बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

    आयोजनाको प्रगति र योजना:
    आयोजनाका मुख्य संरचनाहरूलाई तीन प्याकेजमा विभाजन गरिएको छ। समग्र निर्माणको प्रगति ६३ प्रतिशत पुगेको छ र आयोजना २०८३ असारभित्र (सन् २०२६ मे) सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    मुख्य बाँधको तल्लो तहमा ग्राउटिङ भइरहेको छ भने क्रसर र चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ। तनहुँ जिल्लामा वितरण ट्रान्सफर्मरहरू जडान र ११ केभी लाइन निर्माण गरी विद्युत् आपूर्ति भरपर्दो बनाइएको छ।

    समुदाय र वित्तीय व्यवस्थापन:
    सामुदायिक विकास कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र सडक निर्माणजस्ता ६३ वटा परियोजना सम्पन्न भइसकेका छन्। आयोजना प्रभावितहरूको जीविकोपार्जनका लागि सीपमूलक तालिमहरू सञ्चालन भइरहेको छ।

    आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। यसको वित्तीय व्यवस्थापनमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गरेका छन्।

    भविष्यको सम्भावना:
    आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानी प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १ सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाइएको छ।

    तनहुँ जलविद्युत् आयोजनाले नेपालमा विद्युत् आपूर्तिको दीर्घकालीन समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ।

    Banking-Samachar-Tanahu-Hydro.webp

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ