काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागि टीओटी (टप अफ टेबल) बन्न सफल भएकी छिन्। कम्पनीको नारायणथान शाखामा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी तामाङ मिहिनेती र लगनशील अभिकर्ताको रुपमा परिचित छिन्।
साधारणतया अधिकांश अभिकर्ताहरू एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) बन्न संघर्ष गरिरहेका हुन्छन्। तर तामाङले एमडीआरटीको मापदण्डभन्दा छ गुणा बढी बीमा व्यवसाय गर्दै २०२५ का लागि टीओटी बन्ने लक्ष्य हासिल गरेकी छिन्। उनले २०२४ मा मात्र २ करोड ८२ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेर यो सफलता प्राप्त गरेकी हुन्।
तामाङले जीवन बीमा व्यवसायलाई आफ्नो जीवनको अभिन्न अंग बनाएर अगाडि बढ्दै, दुई वर्षमै देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा पहिचान बनाएकी छिन्। बीमितहरूको जोखिम सुरक्षा गर्दै, उनले हजारौं व्यक्तिलाई बीमाको माध्यमबाट सेवा प्रदान गरेर समाजमा महत्वपूर्ण योगदान दिएकी छिन्।
उनले आफ्नो सफलताको मुख्य कारण कामप्रतिको लगाव, डेडिकेशन र सही मार्केटिङ रणनीतिहरू भएको बताउँदै भनिन्, "सामाजिक सञ्जालको प्रभावकारी उपयोग र निरन्तर मेहनतका कारण टीओटीसम्मको यात्रा तय गर्न सफल भएकी हुँ।"
नेशनल लाइफ इन्स्योरेन्स नारायणथान शाखाका सम्पूर्ण कर्मचारी, शाखा प्रमुख र आफ्नो व्यवसायमा विश्वास राख्ने बीमितहरूप्रति आभार व्यक्त गर्दै तामाङले आगामी दिनमा पनि अझ उत्कृष्ट काम गर्ने प्रतिबद्धता जनाएकी छिन्।



