काठमाडौँ : घोराहीस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा, माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री उत्पादन गरी आयआर्जन गर्दै आएका छन्। उनीहरू यो आम्दानीबाट परिवारलाई आर्थिक सहयोगसमेत गरिरहेका छन्।
कारागार प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक बन्दीले एउटा गलैँचा बुनेबापत पाँचदेखि आठ सय रुपैयाँ कमाउँछन् भने मुढा बनाएर मासिक चारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।
बन्दीहरूले घरेलु तथा साना उद्योग कार्यालयबाट ४५ दिने तालिम लिएपछि गलैँचा बुन्ने सीप हासिल गरेका हुन्। तयार पारिएका गलैँचा र अन्य सामग्री कारागारमा भेट्न आउने आफन्त तथा अन्य व्यक्तिले खरिद गर्ने गरेका छन्। घरेलु कार्यालयले बिक्री व्यवस्थापनमा पनि सहयोग पुर्याइरहेको छ।
“उत्पादित सामग्रीको किनबेच यहीँबाट मिलाइन्छ र हप्तामा तीन दिन कारागार बाहिर ‘स्टल’ राखेर बिक्री गर्ने व्यवस्था छ।” राठौरले बताए। उक्त स्टल आइतबार, मंगलबार र बिहीबार राखिन्छ।
एक सय कैदी राख्ने क्षमताको घोराही कारागारमा हाल चार सय १५ जना बन्दी छन्। तालिमको व्यवस्था र सीपमूलक गतिविधिले उनीहरूलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ।



