काठमाडौँ : सशस्त्र प्रहरी बल नेपाल, पर्साले पछिल्ला दुई दिनमा भन्सार छली गरेर भित्र्याइएका करिब ४५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेका अनुसार सशस्त्र प्रहरीले दैनिक रूपमा भन्सार छलीका सामान नियन्त्रण गर्ने कार्यलाई तीव्र बनाएको छ।
वीरगञ्ज महानगर–१६ स्थित इनर्वा र सीमानाकाबाट भन्सार छली गरी भित्र्याइएका करिब १३ लाख ३६ हजार ९ सय ३५ रुपैयाँ मूल्य बराबरका किनारा, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसोरिज र कपडालगायतका सामान बरामद गरिएका छन्। बरामद सामग्रीसँगै, दुई लाख रुपैयाँ मूल्यको ना ५३ प ९३०६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
वीरगञ्ज महानगर–६ स्थित लाठगलीमा रहेको प्रवेज अक्तरको स्टोर गोदामबाट भन्सार छली गरी भण्डारण गरिएका ३० लाख ४९ हजार रुपैयाँ बराबरका कपडा बरामद गरिएको छ। ती सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
चालु आवका उपलब्धि:
सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक वर्षको चार महिनामा पर्सा जिल्लामा भन्सार छली गरी भित्र्याइएका करिब १५ करोड १८ लाख रुपैयाँका सामान नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये १२ करोड ५३ लाख ८८ हजार ९ सय ३३ रुपैयाँ बराबरका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, हाडवेयर, मोटर पार्ट्स, खाद्यान्न र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, दुई करोड ६४ लाख ३० हजार १ सय ४९ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।
सशस्त्र प्रहरीको सक्रियता र सीमाक्षेत्रमा निगरानीका कारण भन्सार छली नियन्त्रणको कार्य निरन्तर जारी रहेको छ।



