२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनमै उपलब्ध

images

  • २०८१ पुस १, सोमबार
  • 1.6K
    SHARES
  • अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनमै उपलब्ध

    काठमाडौं : नेपालमा अंग प्रत्यारोपणको आवश्यकता भएका बिरामी र अंगदान गर्न इच्छुक दाताका लागि अनलाइनमार्फत जानकारी उपलब्ध हुने सुविधा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त व्यवस्थापनमा यो सेवा सञ्चालनमा ल्याएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा उद्घाटन गर्दै मष्तिष्कमृत्युपछि अंगदान प्रोत्साहन गर्न कार्यक्रम थालिएको बताए। अब इच्छुक दाताले अनलाइनमा सहज रूपमा दर्ता गर्न सक्नेछन् भने प्रत्यारोपणका लागि प्रतीक्षारत बिरामीले आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मष्तिष्कमृत्युपछि दाताको जानकारी तत्काल अनलाइन प्रणालीमा राखिनेछ। यसले बिरामीको उपचार गरिरहेका अस्पताललाई पनि समयमै जानकारी प्रदान गरी प्रत्यारोपण प्रक्रिया छिटो सञ्चालन गर्न सहयोग पुर्‍याउनेछ। दाता तथा बिरामीले केन्द्रको वेबसाइट मार्फत सेवा प्राप्त गर्न सक्छन्।

    उद्घाटन समारोहमा मन्त्री पौडेलले भने “नेपालमा ९८ प्रतिशत मिर्गौला र ९० प्रतिशत फोक्सो प्रत्यारोपण भएका नागरिकले सामान्य जीवन बिताइरहेका छन्। हामी प्रत्यारोपण सेवाको पहुँच अझ विस्तार गर्न प्रतिबद्ध छौं।”

    देशभर प्रत्यारोपण सेवाको विस्तार

    हाल भक्तपुरस्थित शहीद धर्मभक्त केन्द्रका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालमा अंग प्रत्यारोपण सेवा उपलब्ध छ। मन्त्री पौडेलले भेरी अस्पताल (दाङ), सेती प्रादेशिक अस्पताल (धनगढी), भरतपुर अस्पताल (चितवन) र कोशी अस्पताल (विराटनगर) मा पनि सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

    उपलब्धि र चुनौती

    नेपालमा १२ वर्षको अवधिमा १ हजार ३ सय ३५ मिर्गौला र ३० फोक्सो प्रत्यारोपण सम्पन्न भइसकेको छ। यद्यपि शहीद धर्मभक्त केन्द्रले प्रतिवर्ष ३ हजार अपेक्षित बिरामीमध्ये करिब २ सय लाई मात्र मिर्गौला प्रत्यारोपण सुविधा उपलब्ध गराउन सकेको छ।
    चिकित्सक कल्पना श्रेष्ठका अनुसार दाता अभावका कारण धेरै बिरामीले समयमै प्रत्यारोपण सेवा पाउन सकिरहेका छैनन्। “एकीकृत अनलाइन प्रणालीले बिरामी र अस्पतालबीच सम्पर्कमा सहजता ल्याउनेछ र धेरैको जीवन बचाउन मद्दत गर्नेछ।” उनले भनिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ