काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ। बिहान केही स्थानमा हुस्सु र कुहिरो लागे पनि दिउँसो देशभर मौसम खुल्ने महाशाखाले जनाएको छ।
रातको समयमा गण्डकीको हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराईमा मौसम सफा रहने अनुमान गरिएको छ।
मौसमको यो अवस्थाले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने भएकाले पर्यटन, पर्वतारोहण, यातायात र हवाई उड्डयनमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



