काठमाडौँ : चौथो युवा उद्यमी शिखर सम्मेलन पुस ६ गते रुपन्देहीको कोटिहवा स्थित टाइगर प्यालेसमा हुने भएको छ। युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा हुने यो सम्मेलन युवाहरूलाई उद्यमशीलता र स्वरोजगारप्रति अभिप्रेरित गर्दै स्वदेशमै रोजगारीका अवसर खोज्न प्रोत्साहित गर्न केन्द्रित रहनेछ।
उद्योगी, व्यवसायी, वित्तीय विज्ञ र युवा नेताहरूको उपस्थितिमा हुने यस सम्मेलनमा युवा भविष्य र उद्यमशीलताको सम्भावनाबारे प्यानल छलफल, चर्चा र सफल व्यक्तिहरूका अनुभव आदान प्रदान गरिनेछ। सम्मेलन सम्पादन समितिका संयोजक प्रविना घिमिरेका अनुसार, वर्ल्ड लिङ्क कम्युनिकेसन प्रालिका अध्यक्ष दिलीप अग्रवाल प्रमुख वक्ताका रूपमा आफ्नो अनुभव प्रस्तुत गर्नेछन्।
कार्यक्रममा अनुभव आदान प्रदान, प्यानल डिस्कसन र उद्यमशीलताको यात्रा जस्ता विषयमा चारवटा सेसन हुनेछ। माउन्ट एभरेस्ट कथा मिल्सका अध्यक्ष बसन्त रोक्का, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने, सिद्धि विनायक मोटो ग्रुपका म्यानेजिङ डाइरेक्टर सुनिल कसजु, नेपाल टुरिजम बोर्डकी सिनियर म्यानेजर श्रद्धा श्रेष्ठ, कोका-कोला बोटल्स नेपालका पब्लिक रिलेशन एक्सपर्ट स्नेह राज भण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, सिंगापुर बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर डा. आशिस शर्मा, पहाडी फुड्सका म्यानेजिङ डाइरेक्टर प्रशान्त घिमिरे र मेरो किनमेलका संचालक सन्तोष कण्डेललगायतका वक्ताहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन्।
कार्यक्रमको सहजीकरण इकोनोमिस्ट निशान्त खनाल र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले गर्नेछन्। सम्मेलन "नेपालमा युवाको सम्भावना: सूचना प्रविधि, उद्यमशीलता, अवसर र चुनौती" भन्ने मूल विषयमा केन्द्रित रहने युवा उद्यमी मञ्चका च्याप्टर प्रेसिडेन्ट रिशभ वझाले जानकारी दिए।
उक्त सम्मेलनले युवाहरूलाई नयाँ दृष्टिकोण दिने र उद्यमशीलताको माध्यमबाट स्वदेशमै रोजगार सिर्जना गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।



