काठमाडौँ : सफ्टवेयर तथा प्रविधि विकासमा संलग्न एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन्। कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याक गरी सो रकम चोरी भएको हो।
सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको एफवान सफ्टको खाताबाट अनधिकृत रूपमा पैसा ट्रान्सफर भएको घटनामा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ। कम्पनीको उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको छ।
एफवान सफ्टले इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ। यस कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री–वितरणबाट प्राप्त रकम उक्त खातामा जम्मा गर्दै आएको थियो। दुई महिनाको अवधिमा पटक–पटक गरी अनलाइन बैंकिङ प्रणाली प्रयोग गरेर विभिन्न खातामा रकम ट्रान्सफर गरिएको पाइएको छ।
अनुसन्धानको क्रममा प्रहरीले केही खाताधनीलाई पक्राउ गरेको छ भने साइबर ब्युरोले यसलाई प्रारम्भिक चरणको अनुसन्धान भनेको छ। स्रोतका अनुसार, कर्पोरेट बैंकिङ प्रणालीमा अनधिकृत पहुँच पुर्याएर रकम चोरी गरिएको हो। बैंक, प्रहरी र कम्पनीका अधिकारी दुई महिनादेखि यस घटनाको कारण खोज्न अन्योलमा छन्।
चोरी गरिएको रकम नेपालभित्रका विभिन्न खातामा पठाइएको पाइएको छ। केही रकम वैदेशिक रोजगारीका लागि टिकट भुक्तानी तथा हुन्डी कारोबारका लागि प्रयोग गरिएको आशंका गरिएको छ। यसरी अन्तर्राष्ट्रिय गिरोहकै संलग्नतामा रकमको आदान–प्रदान भएको संकेत पाइएको छ।
यो प्रकारको बैंकिङ ह्याकिङ नयाँ ढाँचाको भएकोले यसले समग्र बैंकिङ क्षेत्रमा चुनौती खडा गरेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।



