काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार उनीहरूले आर्थिक वर्ष २०७६/७७ मा पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गर्दै १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बढी भुक्तानी दिइ आर्थिक अनियमितता गरेका थिए।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा तत्कालीन इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङ, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चमाया तामाङ छन्।
रुवीभ्याली गाउँपालिकाअन्तर्गत पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरिएको उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।
आयोगले आठैजनामाथि जनही १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ बिगो भराउनुपर्ने दाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो।



