काठमाडौं : साना तथा मझौला कम्पनीहरूलाई पुँजी बजारमा सहभागिता बढाउन सरकारले विशेष कानूनी व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै धितोपत्र बजारलाई थप व्यवस्थित र समावेशी बनाउने नीति अनुरूप यो कदम उठाइएको जानकारी दिए।
सरकारको यो निर्णयले साना तथा मझौला कम्पनीहरूले पुँजी संकलन गर्न थप सहज हुने विश्वास लिइएको छ। त्यस्तै धितोपत्र बजार संचालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिबाट प्राप्त प्रतिवेदनलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि बैठकले गरेको छ।
सरकारले साना कम्पनीहरूको पहुँच विस्तार गर्न नयाँ प्लेटफर्म विकास गर्ने र पुँजी बजारमा विविधता ल्याउन नयाँ रणनीति लागू गर्ने तयारी गरेको छ।



