काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका दुई विद्यालयका ४ सय ४७ जना विद्यार्थीलाई विद्यालय ट्र्याकसुट वितरण गरेको छ।
कार्यक्रममा श्री मंगल जन विजय माध्यमिक विद्यालयका ४ सय विद्यार्थी र श्री शान्ति बुद्ध आधारभूत विद्यालयका ४७ विद्यार्थीलाई ट्र्याकसुट प्रदान गरिएको थियो।
सिटिजन लाइफका प्रमुख नायव कार्यकारी अधिकृत दिप बहादुर बिसीले गत असोजमा भएको अविरल वर्षाका कारण प्रभावित भएका विद्यार्थीलाई राहत प्रदान गर्ने उद्देश्यले ट्र्याकसुट वितरण गरिएको बताए। यसले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने विश्वास व्यक्त गर्दै उनले न्यानो कपडाले उनीहरूलाई थप आत्मविश्वास दिन सकोस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा प्रमुख बजार व्यवस्थापक भूषण रिमालले विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले विद्यार्थीहरू देशको भविष्य भएको र उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गरे।
समाजसेवी तथा शिक्षासेवी शंख बुद्ध लामाले संस्थापक सदस्य रहेको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद व्यक्त गरे। साथै, उनले बीमाको महत्त्वलाई उजागर गर्दै सबैले बीमा गर्नुपर्नेमा जोड दिए।
सिटिजन लाइफका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले विद्यार्थीहरूको अनुहारमा खुसी देख्दा आफूलाई समेत खुसी लागेको बताए। बीमाले आर्थिक जोखिम न्यूनिकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बीमा सबैका लागि अपरिहार्य भएको धारणा राखे।
कार्यक्रममा एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले बीमाले भविष्यमा हुने जोखिमलाई कम गर्ने भएकोले सबैले बीमा गर्नुपर्नेमा जोड दिए। साथै, उनले बीमासम्बन्धी जानकारी र सहायताका लागि आफूसँग सम्पर्क गर्न आग्रह गरे।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।



