काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ९ करोड रुपैयाँभन्दा बढी मूल्यका क्रिसमस ट्रि लाइट आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार २०८१ साउनदेखि मङ्सिर मसान्तसम्म ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात गरिएको छ, जसको कुल मूल्य ९ करोड २६ लाख ५९ हजार रुपैयाँ छ।
आयात गरिएको क्रिसमस ट्रि लाइटमध्ये सबैभन्दा ठूलो हिस्सा चीनबाट आएको छ। चीनबाट ६ लाख ७४ हजार ४१ थान लाइट आयात भएको छ, जसको मूल्य ८ करोड ६४ लाख ३२ हजार रुपैयाँ छ।
यस्तै, कतारबाट २ सय ३९ थान लाइट ३२ हजार रुपैयाँमा, बहराइनबाट १ सय २२ थान लाइट ११ हजार रुपैयाँमा र हङकङ, साउदी अरेबिया, ओमानलगायतका ७ मुलुकबाट ९५ थान लाइट १६ हजार रुपैयाँमा आयात गरिएको छ।
नेपालमा क्रिसमस पर्वको लोकप्रियता बढेसँगै यस प्रकारका सजावटका सामानहरूको माग समेत बढ्दै गएको देखिन्छ।



