काठमाडौँ : जाडोयाममा कन्डमको खपत उल्लेख्य रूपमा बढ्ने गरेको छ। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र नेपालमा १ करोड ५८ लाखभन्दा बढी कन्डम आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार, यो आयातका लागि १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च गरिएको छ भने यसबाट ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षमा कुल ३ करोड ९२ लाख ३२ हजार ८ सय ५० कन्डम आयात भएको थियो। यस आयातमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
सोही वर्ष मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४ सय ७३ वटा कन्डम आयात गरिएको थियो, जसमा १२ करोड ०२ लाख ८३ हजार रुपैयाँ खर्च भएको देखिन्छ। तथ्याङ्कले मङ्सिर महिनामा, विशेषगरी जाडोयामको समय, कन्डम आयात उच्च हुने देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल ३ करोड ६५ लाख ९९ हजार २ सय ९० वटा कन्डम आयात भएको थियो, जसका लागि २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको थियो। त्यसवर्ष सरकारले ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
उक्त वर्ष पनि मङ्सिर महिनामा मात्र १ करोड ८४ लाख ७ हजार ३ सय ९० कन्डम आयात भएको थियो, जसमा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको थियो।



