काठमाडौँ : हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। केही तराई क्षेत्रहरूमा हल्का हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
बिहीबार गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई तथा उपत्यकाका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो देखिन सक्नेछ, जसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात र हवाई उड्डयनमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ। गण्डकी प्रदेशका केही स्थानमा भने बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मौसम सम्बन्धी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



