काठमाडौँ : नेपालमा अहिले पश्चिमी न्यून चाप प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारण बदली रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा देखिन्छ। तराईका थोरै भूभागमा हुस्सु लागेको छ।
महाशाखाले एक बुलेटिन जारी गर्दै जनाएका छन् कि अबको चौबीस घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानहरूमा हल्का वर्षा र उच्च भू-भागमा हल्का हिमपातको सम्भावना छ। यसबाट दैनिक जनजीवन, यातायात, स्वास्थ्य र पर्यटनमा असर पर्न सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
आज सोमबार दिउँसो, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति, सोही तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम सफा रहनेछ। उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
वर्षा र हिमपातको सम्भावना रहेका ठाउँमा जाडोले जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



