काठमाडौँ : मोबाइल बैंकिङ मार्फत् कर्जा लिएर फरार हुने ७४ जनाको नाममा सार्वजनिक सूचना जारी भएको छ । नबिल बैंक लिमिटेडले फोन लोन लिएर नतिरेको भन्दै आफ्ना ७४ जना ऋणीहरुको नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना मात्र होइन बैंकले ऋणीको नाम, स्थायी ठेगाना सम्पर्क नम्बर नै सार्वजनिक गरेको छ । लोन लिएर नतिर्ने ग्राहकहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन बैंकले सार्वजनिक सूचनामा भनेको छ ।
पछिल्ला दिनहरुमा बैंकहरुले आफ्ना ग्राहकहरु आवश्यक थोरै आर्थिक सहजताका लागि भन्दै फोन लोनको सुविधा ल्याएका छन् । ग्राहकले बिनाधितो, बिना काउन्टर मोबाइल एपमार्फत् नै ऋणका लागि आवेदन दिन सक्नेछन् भने बैंकले व्यक्तिको आय स्रोत हेरी खातामा नै कर्जा प्रदान गर्ने व्यवस्था ल्याएको छ । यस्तो फोन लोन बैंकहरुले एक हजार, १० हजार, १५ हजार हेरी २ लाख रुपियाँसम्म प्रदान गर्ने गरेका छन् ।
त्यसो त पहिलो पटक फोन लोनको अवधारणा र शुरुवात नबिल बैंकले नै गरेको हो । यो बैंकले ग्राहकको आम्दानी हेरी एक लाख रुपियाँसम्मको कर्जा मोबाइल बैंकिङ एपबाटै आवेदन गर्नसक्ने सुविधा प्रदान गरिएको छ । तर, पछिल्लो समय बढ्दो बिकृतिका कारण केही सेवाग्राहीले लिएको कर्जाको भुक्तान नगरेको बैंकले जनाएको छ ।
यस्ता ग्राहकहरुलाई सुसूचित गर्न पहिलो पटक ३५ दिने सूचना जारी गरिएको बैंकले जनाएको छ । ३५ दिनसम्म पनि सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।




