काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारीहरूबीचको खेलकुद प्रतिभा, आपसी सद्भाव तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित केएसबीबीएल ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ।
शनिबार सम्पन्न प्रतियोगितामा ब्याडमिन्टन डबल्स तथा चेस का रोमाञ्चक प्रतिस्पर्धाहरू सम्पन्न भए। सातवटा प्रदेश र केन्द्रीय कार्यालय गरी आठ समूहबीच प्रतिस्पर्धा भएको यस खेलमा पुरुष ब्याडमिन्टन डबल्समा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारी को जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियालाई पराजित गर्दै उपाधि जितेका छन् । त्यस्तै, महिला ब्याडमिन्टन डबल्समा नारायणगढकै मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयका अन्सु कर्मचार्य र दीपा चौहानलाई हराउँदै उपाधि जितेका छन् ।
चेस प्रतियोगिता तर्फ पुरुषतर्फ बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई पराजित गर्दै विजेता बने भने महिलातर्फ केन्द्रीय कार्यालयकी निशा प्रसाईले कोशी प्रदेशकी मञ्जु खत्रीलाई हराउँदै उपाधि आफ्नो पक्षमा पारिन्।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुंगानाले विजेता तथा उपविजेताहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो। कार्यक्रममा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता प्रतियोगिताले कर्मचारीहरूको शारीरिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप समेत आयोजना गर्दै आएको छ।



