२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पारस मणि मिश्रको विजयसहित नेपाली जनसम्पर्क समिति नर्वेको लोकतान्त्रिक अधिवेशन सम्पन्न

images

  • २०८२ वैशाख १०, बुधबार
  • 1.3K
    SHARES
  • पारस मणि मिश्रको विजयसहित नेपाली जनसम्पर्क समिति नर्वेको लोकतान्त्रिक अधिवेशन सम्पन्न

    काठमाडौँ : नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन भव्य, अनुशासित र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ । मिश्रले २८३ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सालिग्राम अर्यालले १८६ मत प्राप्त गरेका थिए ।

    कुल ४ सय ४४ भौतिक र ३५ अनलाइन गरी ४ सय ७९ मत खसेकोमा १० मत बदर भएका थिए । उपाध्यक्ष पदमा गणेश थापा, चक्र विक्रम शाही, रमेश आघिमिरे र गिरीराज अधिकारी निर्वाचित भएका छन् ।


    निर्विरोध निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर शाही, महासचिवमा सुरेश कुमार यादव र रमेश सुवेदी, सहमहासचिवमा नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री तथा कोषाध्यक्षमा निर्मला परियार रहेका छन् । सदस्यहरूमा नवराज श्रेष्ठ, रमेश तिम्सिना, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित भएका छन् ।


    कार्यक्रमको अध्यक्षता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र बिक्रम शाहीले गरेका थिए । प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे सहभागी थिए । नेपाली कांग्रेसले निर्वाचन अधिकृतको जिम्मेवारी नवीन थपलियालाई दिएको थियो ।

    प्रमुख अतिथि पाण्डेले विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र नेटवर्कको सदुपयोग गर्दै नेपालमा रोजगारी सिर्जना र समृद्धि ल्याउन सकिने बताउँदै, पर्यटन प्रवर्द्धनका लागि प्रवासी नेपालीहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए । अधिवेशनलाई नमूना सभाका रूपमा चित्रण गर्दै उनले अनुशासन र समावेशिताको प्रशंसा गरेका थिए ।

    निर्वाचन अधिकृत थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचनका लागि सबैलाई बधाई दिँदै, यसपटकको निर्वाचन धेरै सहभागीहरूको लागि पहिलो अनुभव भएको र लोकतान्त्रिक प्रक्रियाको अभ्यासमा उनीहरूले नयाँ अनुभव लिएको बताए ।

    बन्द सत्रमा विधान संशोधनसम्बन्धी छलफल हुनुका साथै नर्वेमा नेपाली राजदूतावास स्थापनाका लागि जनसम्पर्क समितिले पहल गर्नुपर्ने प्रस्ताव पारित गरिएको थियो । साथै, नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महासमिति सदस्यमा पारस मणि मिश्र, जितेन्द्र बिक्रम शाही र कविन्द्र ढकाल चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र के.सी. र आविष्कार बास्तोला चयन भएका छन् ।

    अधिवेशनको समापन सत्रमा निवर्तमान सभापति जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालमा संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई समेत त्यही मार्गमा अघि बढ्न सुझाव दिए । उनले निर्वाचन व्यवस्थापन टिम, स्वयंसेवक, मतदाता तथा सबै सहभागीलाई विशेष धन्यवाद ज्ञापन गरे ।

    अधिवेशनको अवसरमा बास्केटबल, फुटबल जस्ता खेलकुद कार्यक्रमको आयोजना गर्ने र राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने योजना पनि अगाडि सारिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ