काठमाडौँ : आज मातातीर्थ औँसीको अवसरमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गरिँदैछ। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ। यसै अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। भक्तपुरका नेवार समुदायले पनि हनुमानघाटमा आमाको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने परम्परा निर्वाह गरेका छन्।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, यस दिन बिहानै स्नान गरी आमालाई उपहार दिई मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने परम्परा रहेको छ। आमा दिवंगत भएका सन्तानले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने चलन छ।
डा. कोइरालाका अनुसार, आमालाई सम्मान गर्न वर्षको कुनै पनि दिन उपयुक्त भए तापनि आजको दिन विशेष महत्व राख्छ। शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा उच्च स्थानमा राखिएको उल्लेख छ।
घर टाढा रहेका धेरैले आमासँग प्रत्यक्ष भेट नभए टेलिफोनमार्फत् सम्झना गर्ने गर्छन् भने सामाजिक सञ्जालमा आमाको तस्वीर राखेर सम्मान प्रकट गर्ने चलनसमेत बढेको छ। यस अवसरमा काठमाडौंको थानकोटस्थित मातातीर्थमा मेला लागेको छ। बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ। कतिपय भक्तजनले शनिबार साँझ दीप प्रज्वलन गरी जाग्राम बसेर बिहानै स्नान र पूजा गरेका छन्।
मान्यता अनुसार, मातातीर्थस्थित कुण्डमा स्नान गरी दर्शन गर्दा दिवंगत आमाप्रति तिर्नुपर्ने ऋणबाट मुक्त भइने विश्वास गरिएको छ। आमा नभएका सन्तानले यहाँ स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्ने परम्परा छ।



