कात्तिक २०, काठमाडौं : नेपाल धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै अब शेयर बाँडफाँड भएको ६ महिनासम्म म्युचुअल फण्डले आरक्षणको आईपीओ बेच्न नपाउने भएका छन्। बोर्डका अनुसार यो नियम २०८० कार्तिक २१ गतेबाट लागू हुने छ। सोहि बमोजिमको व्यवस्था गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई बोर्डले निर्देशन दिएको छ।
बोर्डको निर्देशन अनुसार संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन।
धितोपत्र बाँडफाँड भएको मितिले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने पाइने छ।



