काठमाडौँ : तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउँदै आउँदो जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीको निर्णय अनुसार, जेठ ४ गतेसम्म शेयरधनीका रूपमा दर्ता भएका लगानीकर्ताहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट हालको चुक्तापुँजीको १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने स्वीकृति प्राप्त भइसकेको छ। यसअनुसार कम्पनीले कुल ४० लाख कित्ता साधारण शेयर जारी गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल मूल्यमा हेर्दा यो हकप्रद निष्कासन ४० करोड रुपैयाँ बराबरको हुनेछ।
हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। यस निष्कासन प्रक्रियाको व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।



