काठमाडौँ : महालक्ष्मी विकास बैंकको पोखरा लेकसाइड शाखामा भएको तोडफोडको घटनाले बैंकलाई स्तब्ध बनाएको छ। हालै देशभर चलेको जेनजी आन्दोलनका क्रममा बैंकको उक्त शाखा रहेको भवनमा पूर्ण क्षति पुगेको बैंकले जनाएको छ।
बैंकले एक सूचना जारी गर्दै लेकसाइड शाखाबाट प्रदान गरिने सेवाहरू नजिकका अन्य शाखाहरूबाट लिन ग्राहकहरूलाई आग्रह गरेको छ। यद्यपि, लेकसाइड बाहेक बैंकका अन्य १०२ शाखाहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने सम्पूर्ण डिजिटल सेवाहरू पनि सुरक्षित रूपमा चलिरहेका छन्।
यस विषम परिस्थितिमा भएका दुःखद घटनाहरू, जसमा जिउधनको समेत क्षति भएको छ, त्यसबाट महालक्ष्मी विकास बैंक अत्यन्तै मर्माहत भएको छ। बैंकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ। साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले सरकार गठनको प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्य बन्ने, शान्ति, सुशासन, निष्पक्ष व्यावसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति हुने विश्वास व्यक्त गरेको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।



