काठमाडौँ : नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार धितोपत्र बजारमा केही उतारचढाव देखिएको छ। २०८२ साउन मसान्तसम्म बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँमा झरेको छ। जबकी, २०८१ साउनमा यो ४७ खर्ब ६५ अर्ब ९१ करोड थियो।
कुल गार्हस्थ्य उत्पादन (GDP) सँगको अनुपातमा पनि बजार पुँजीकरण घटेको छ। २०८१ साउनमा ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशतमा झरेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।
कम्पनी संख्यामा वृद्धि, नेप्से सूचकमा गिरावट : २०८२ साउन मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २६८ थियो। यीमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनीहरू रहेका छन्।
बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५२.६ प्रतिशत छ। त्यसैगरी, जलविद्युत् कम्पनीको १५.३ प्रतिशत, लगानी कम्पनीको ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.६ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटेलको २.७ प्रतिशत र अन्य समूहको ११.१ प्रतिशत हिस्सा रहेको छ।
नेप्से सूचकाङ्क भने घटेको छ। २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ।
पूँजीबजारको आकार र नयाँ धितोपत्र निष्कासन : राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा नेप्सेमा सूचीकृत ८ अर्ब ८८ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्, जसमा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर, ७१ करोड ८५ लाख बराबरको बोनस सेयर र २ करोड २५ लाख बराबरको हकप्रद सेयर समावेश छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ, जसमा ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ४७ करोड १५ लाख बराबरको साधारण शेयर रहेका छन्।



