कात्तिक २१, काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले आज राहत सामग्री हस्तान्तरण गरेको छ।
भूकम्प पीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो। सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो।
यस्तै, जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ। विदेशमा बस्ने नेपाली दाजु भाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्प पीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ।
सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले ५०० भन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो। जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ।



