२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वित्तीय प्रणालीमा असन्तुलनको संकेत : बढ्दो निक्षेप, घट्दो कर्जा माग

images

  • २०८२ कात्तिक १८, मंगलबार
  • 896
    SHARES
  • वित्तीय प्रणालीमा असन्तुलनको संकेत : बढ्दो निक्षेप, घट्दो कर्जा माग

    - बैंकहरूमा बढी निक्षेपको चुनौती : मुद्दती निक्षेपकर्तालाई निरुत्साहित गर्दै वित्तीय क्षेत्र - अधिक निक्षेपको बोझ’: कर्जा माग ठप्प भएपछि बैंकहरूले मुद्दती निक्षेपकर्तालाई रोक्न थाले - कर्जा नचल्दा बैंकहरू संकटमा, निक्षेप व्यवस्थापनमै राष्ट्र बैंकलाई चुनौती

    काठमाडौं : नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा हाल निक्षेप असामान्य रूपमा बढेको छ। कर्जाको माग भने ठप्पजस्तै भएपछि बैंकहरूले मुद्दती निक्षेपकर्तालाई नै निरुत्साहित गर्न थालेका छन्।

    आर्थिक मन्दी, कोभिड महामारीपछिको अनिश्चितता र निजी क्षेत्रको लगानी विस्तारमा आएको सुस्त गतिका कारण कर्जा प्रवाह नबढे पनि रेमिट्यान्स र निर्यात वृद्धिले निक्षेपमा ठूलो सुधार आएको हो  यसले गर्दा अहिले बैंकिङ प्रणालीमा आवश्यकभन्दा धेरै तरलता रहेको छ। केन्द्रीय बैंकका ताजा तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप करिब ७५ खर्ब रुपैयाँ नाघेको छ, जुन नेपालको कुल जीडीपी (६१ खर्ब रुपैयाँ) भन्दा पनि करिब १५ खर्ब बढी हो।

    निक्षेप बढेसँगै ब्याजदर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। केन्द्रीय बैंकले ब्याजदरमा अत्यधिक उतारचढाव नहोस् भनेर ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम गरेको छ। तर, वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकलाई चुनौती बढेको छ। एक बैंकरका अनुसार, “स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) केन्द्रीय बैंकले केही दिन बन्द गरे मात्रै प्रणालीमा बढी तरलता समस्या भइहाल्छ।”


    अधिक निक्षेपका कारण राष्ट्र बैंकले अर्बौं रुपैयाँ खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ। बैंकरहरू भन्छन् — ब्याजदर अझै घटे कर्जाको ब्याजदर पनि १–२ प्रतिशतमै झर्ने सम्भावना छ, जसले बैंकिङ प्रणालीमा विकृति ल्याउन सक्छ। कर्जा लगानी ठप्प हुँदा धेरै बैंकले अब नयाँ मुद्दती निक्षेप लिनै छाडेका छन्। “हामीलाई निक्षेप राख्न ग्राहकहरू अनुरोध गर्छन्, तर हामी सीमित मात्रामा लिन्छौं,” एक बैंकरले बताए, “निक्षेप लिएर लगानी गर्ने ठाउँ छैन, खर्च मात्रै बढ्छ।”

    वित्तीय प्रणालीमा अहिले करिब ११ खर्ब रुपैयाँ कर्जा लगानीयोग्य रकम आइडियल अवस्थामा छ भने ७ खर्ब ८० अर्ब रुपैयाँ केन्द्रीय बैंककै निक्षेप संकलन सुविधामा थुप्रिएको छ  अहिले औसत निक्षेप ब्याजदर ३.९६ प्रतिशत, र कर्जाको औसत ब्याजदर ७.६६ प्रतिशत रहेको छ। निक्षेप बढ्दा कर्जा-निक्षेप अनुपात (CD Ratio) पनि घट्दै ७४.५३ प्रतिशत मा सीमित भएको छ, जबकि बैंकहरूले अधिकतम ९० प्रतिशतसम्म प्रयोग गर्न पाउँछन्।


    बैंकरहरूका अनुसार, कर्जा माग नबढ्ने हो भने पूँजी पलायन (Capital Flight) को जोखिम पनि बढ्न सक्छ । धेरै लगानीकर्ताले सुरक्षित मुलुकतर्फ रकम सार्न थालेको उल्लेख गर्दै उनीहरू भन्छन्, “लगानी गर्ने वातावरण नबने सम्म निक्षेप बढ्नु सकारात्मक होइन, व्यवस्थापन गर्नै चुनौती हो।”

    संक्षेपमा भन्नुपर्दा : नेपालको बैंकिङ क्षेत्र अहिले ‘अधिक निक्षेप तर कम कर्जा माग’ भन्ने असन्तुलनको अवस्थामा पुगेको छ। निकट भविष्यमै प्रभावकारी लगानी वातावरण र नीति नआए बैंकहरूमा स्रोतको दुरुपयोग तथा प्रणालीगत असन्तुलनको जोखिम बढ्ने देखिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ