काठमाडौँ : घोराहीस्थित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले नेपाल विद्युत् प्राधिकरणसँगको बिजुली बक्यौताको पहिलो किस्ता बुझाएपछि पुनः लाइन जोडिएको छ। कम्पनीले मंगलबार साँझ ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि प्राधिकरणले विद्युत् सेवा पुनः सुचारु गरेको हो।
यसअघि, लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले कात्तिक ७ गते कम्पनीको लाइन काटेको थियो।
प्राधिकरणका अनुसार सोनापुर मिनरलले माघ २०७२ देखि वैशाख २०७५ सम्मको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ। उक्त रकमलाई २८ किस्तामा विभाजन गरी तिर्ने सुविधा दिइएको छ।



