काठमाडौं : शिवम सिमेन्ट लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश अनुमोदन गरिनेछ। कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख ५ हजार ५ सय रुपैयाँको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमध्ये २.५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहनेछ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै, रिक्त सञ्चालकमा गरिएको नियुक्ति तथा मनोनयन अनुमोदन गरिनेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर ११ गतेभन्दा अघिसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।



