काठमाडौँ : आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै कम्पनीले भोलिदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा आयोजना गरिएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
त्यस्तै, साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसका लागि कम्पनीले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा १२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
साहस उर्जाको सभाले गत आर्थिक वर्षमा पारित शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गर्दै हाल बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्ने तयारी गरिएको छ।



