काठमाडौँ : सोलु हाइड्रोपावर लिमिटेडले आज मंसिर ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) खुला गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले शेयर निष्काशन सुरु गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीलाई जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ। यसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला शाखाबाट आवेदन दिन सक्नेछन्। दरखास्त फाराम शुल्क २ रुपैयाँ तोकिएको छ।
आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका–७, ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का बासिन्दालाई ४० लाख कित्ता, अन्य वडाका स्थानीयलाई ६० लाख कित्ता शेयर वितरण गरिनेछ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ।
न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले मंसिर २१ गतेसम्म छिटोमा र पुस ७ गतेसम्म ढिलोमा आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १० गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।



