काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंसिर २२ गते रहेको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आजसम्म कायम रहेका शेयरधनी मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे आयोजना गर्ने तयारी गरेको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १०.३५८३ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। यसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।
बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकाले नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। साथै, सञ्चालकहरुले विभिन्न खर्चबापत पाउने रकम वृद्धि गर्ने प्रस्ताव अनुमोदन गरिनेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ



