काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा चयन हुनु भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उहाँको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो।
महासंघको ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ। त्यसबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ। जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी हुनुभएको छ। शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गर्नुुभएको हो।
त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गर्नु भएको छ। जसले ६० मत पाउनु भएका थियो। एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी हुनुभएको छ। पाण्डेले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गर्नुभएको हो।
नयाँ नेतृत्वसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



