काठमाडौँ : एभरेष्ट कलर लिमिटेड (ECL) को प्राथमिक सेयर (आईपीओ) भरेका लगानीकर्ताहरूको डिम्याट खातामा सेयर जम्मा भएको छ। बाँडफाँड प्रक्रिया सकिएसँगै कम्पनीले अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सेयर सूचिकृत गराउने तयारी थालेको छ।
नेप्सेमा सेयर सूचिकरण भएको भोलिपल्टदेखि दोस्रो बजारमा यसको औपचारिक कारोबार सुरु हुनेछ।
पहिलो कारोबारका लागि ओपनिङ रेन्ज :
बजार विश्लेषकहरूका अनुसार, नेप्सेले एभरेष्ट कलर लिमिटेडको पहिलो सेयर कारोबारका लागि कम्पनीको नेटवर्थको आधारमा सुरुवाती मूल्य तय गर्नेछ। यसका लागि न्यूनतम रु १०० देखि अधिकतम रु ३०० सम्मको ओपनिङ रेन्ज तोकिने सम्भावना रहेको छ।
आईपीओ निष्कासनका मुख्य विवरणहरू :
कुल निष्कासन: मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस पेन्ट उत्पादन कम्पनीले आफ्नो कुल पुँजीको २६.३३ प्रतिशत (अर्थात ७ लाख ९० हजार कित्ता सेयर) सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
बाँडफाँडको अवस्था :
सर्वसाधारणका लागि छुट्याइएको ६लाख ५५ हजार ७ सय कित्ता सेयरका लागि २६ लाखभन्दा बढी आबेदकहरूले योग्य आवेदन दिएका थिए। अत्यधिक आवेदनका कारण गोलाप्रथा (लकी ड्र) मार्फत ६५हजार ५ सय ७० जना भाग्यमानी लगानीकर्ताहरूले जनही १० कित्ताका दरले सेयर हात पारेका छन्।
कम्पनीको पृष्ठभूमि :
चितवनमा उत्पादन प्लान्ट रहेको एभरेष्ट कलर लिमिटेडले विगत एक दशकभन्दा लामो समयदेखि भित्री, बाहिरी तथा औद्योगिक प्रयोजनका लागि विभिन्न प्रकारका रङ (पेन्ट्स) हरू उत्पादन गर्दै आएको छ।



