काठमाडौँ : वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा केही गिरावट आए पनि देश भित्रिने रेमिटेन्स (विप्रेषण) ले भने नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठसम्म) को आर्थिक प्रतिवेदन अनुसार विगत तीन महिनादेखि लगातार मासिक दुई खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको हो।
तथ्यांक अनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। यसअघि वैशाखमा २ खर्ब ५७ अर्ब र चैतमा २ खर्ब ९ अर्ब रूपैयाँ भित्रिएको थियो। विगत साढे दुई वर्षयता मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिने क्रमले निरन्तरता पाइरहेको बेला पछिल्ला महिनाहरूमा यसको दरमा थप वृद्धि भएको देखिन्छ।
गत वर्षको तुलनामा उल्लेख्य वृद्धि :
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल २१ खर्ब २० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १५ खर्ब ४१ अर्ब रूपैयाँ मात्र रेमिटेन्स भित्रिएको थियो, जसको तुलनामा यस वर्षको वृद्धिदर निकै उत्साहजनक छ।
यसै अवधिमा नेपालबाट बाहिरिने रेमिटेन्समा पनि सामान्य वृद्धि भएको छ। ११ महिनामा १० अर्ब ८९ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ, जुन गत वर्षको सोही अवधिमा ९ अर्ब ८७ करोड रूपैयाँ थियो।
श्रम स्वीकृति लिनेको संख्यामा कमी :
रेमिटेन्स रकम बढे पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने ५.४५ प्रतिशतले कमी आएको छ। मध्यपूर्वी देशहरू इरान र इजरायलबीच जारी द्वन्द्वका कारण केही समय वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बन्दा जानेहरूको संख्या घट्न पुगेको हो।
तथ्यांक अनुसार गत वर्षको जेठ मसान्तसम्म ७ लाख ६० हजार जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका थिए। तर, यस आर्थिक वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या घटेर ७ लाख १८ हजारमा सीमित भएको छ।



