काठमाडौं : नियामक निकाय नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा तोकिएको नियम तथा निर्देशन पालना नगरेको भन्दै तीनवटा 'क' वर्गका वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकका सञ्चालक तथा पदाधिकारीहरूलाई नियामकीय कारबाही गरेको हो।
प्रभु बैंक र तत्कालीन सीईओमाथि कडा कदम :
केन्द्रीय बैंकका अनुसार प्रभु बैंकले पटक-पटक दिइएका निर्देशनहरू उल्लंघन गरेको पाइएको छ। बैंकले कर्जाको सही वर्गीकरण नगरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको र राष्ट्र बैंकमा पेस गरेको कर्जा तथ्यांक बैंकको आफ्नै कोर बैंकिङ सफ्टवेयर (CBS) को विवरणसँग मेल नखाएको भेटिएको छ।
नियम विपरीत कार्य गरेको ठहर गर्दै राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई व्यक्तिगत रूपमा ५ लाख रुपैयाँ नगद जरिवाना गराएको छ। यो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसहित) को दफा १०० को उपदफा २ (ग) बमोजिम गरिएको हो।
त्यस्तै, अघिल्ला निरीक्षण प्रतिवेदनमा औंल्याइएका गम्भीर कैफियतहरूमा सुधार नगरेपछि राष्ट्र बैंकले प्रभु बैंकको सञ्चालक समितिलाई आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता व्यक्त गराउँदै ‘कबुलियतनामा’ समेत गराएको छ।
सरकारी स्वामित्वका दुई बैंकलाई ‘सचेत’
केन्द्रीय बैंकले सरकारी लगानी रहेका अन्य दुई बैंक— राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई भने राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराएको छ।
-
राष्ट्रिय वाणिज्य बैंक : बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी राष्ट्र बैंकको व्यवस्था र बैंकको आफ्नै आन्तरिक विनियमावली पालना नगरेको पाइएकाले सचेत गराइएको हो।
-
कृषि विकास बैंक : विशेष स्थलगत निरीक्षणका क्रममा सम्बन्धित निकायहरूको अनुरोध अनुसार समयमै खाता रोक्का नगरेको र केन्द्रीय बैंकको निर्देशन उल्लंघन गरेको पाइएकाले कारबाही स्वरूप सचेत गराइएको बैंक सुपरिवेक्षण विभागले जनाएको छ।



