काठमाडौँ : कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यस समीक्षा अवधिमा बैंकको मुख्य वित्तीय सूचकहरूमा केही दबाब देखिएको छ भने अधिकांश आम्दानीजन्य सूचकहरू ओरालो लागेका छन्। बैंकले यस अवधिमा कुल २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशतले कम हो।
नाफासँगै बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि गिरावट आएको छ। समीक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जो गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले कम हो। त्यस्तै, अघिल्लो वर्ष ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।
नाफा र आम्दानीका सूचकहरू खुम्चिए पनि बैंकको व्यवसायको आकार भने उल्लेखनीय रूपमा विस्तार भएको छ। यस अवधिमा बैंकको निक्षेप सङ्कलन १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने यसअघिको तुलनामा कर्जा लगानी पनि बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ।
वित्तीय विवरणका अन्य मुख्य सूचकहरूलाई हेर्दा, समीक्षा अवधिमा बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर आम्दानी (इपीएस) १६ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा कायम हुन सफल भएको छ।



