काठमाडौँ : विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखि अगस्ट ०७) को अवसर पारेर महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्व र शिशुको कल्याणलाई उच्च प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ।
स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई कार्यस्थलमा सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने मुख्य उद्देश्यसहित उक्त कक्ष स्थापना गरिएको बैंकले जनाएको छ। हालै आयोजित एक विशेष कार्यक्रमका बीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमका अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गर्नुभएको हो।
बैंकको ३२औँ वार्षिकोत्सवको अवसरमा गठन गरिएको महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमले महिला कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ। यस फोरमले महिलाहरूको पेशागत दक्षता तथा आत्मविश्वास बढाउन, कार्यस्थलमा समान अवसर र समावेशी वातावरण प्रवर्द्धन गर्न तथा महिला सशक्तीकरणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
महालक्ष्मी विकास बैंकले सधैँ लैङ्गिक समानता र समावेशितालाई प्राथमिता दिँदै आएको छ। कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन (Work-Life Balance) र कर्मचारी कल्याणलाई प्रवर्द्धन गर्ने बैंकको दीर्घकालीन प्रतिबद्धतास्वरूप यो कदम चालिएको हो। बैंकले अन्य सबै कार्यस्थलहरूलाई पनि मातृत्वमैत्री वातावरण निर्माणतर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरूको स्वास्थ्य, सम्मान र समग्र कल्याणप्रति आफू सधैँ प्रतिबद्ध रहेको विश्वास दिलाएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आएको यस बैंकले आफ्नो सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउँदै लगेको छ। यसै क्रममा बैंकले हालै मात्र काठमाडौँको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। देशभर १०३ शाखा र करिब ८ लाख ग्राहकहरूसहित, बैंकले विगत ३२ वर्षदेखि अनवरत रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।



