२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ग्यास अभाव हटाउन मन्त्री नै अनुगमनमा, आयात पनि बढ्दै

images

  • २०८३ साउन २४, आइतबार
  • 366
    SHARES
  • ग्यास अभाव हटाउन मन्त्री नै अनुगमनमा, आयात पनि बढ्दै

    काठमाडौँ : काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः सहज बन्दै गएको छ। गत असार ३१ गतेदेखि १४.२ किलोग्राम क्षमताको सिलिन्डर बिक्री सुरु गरिएसँगै केही समय अभाव देखिए पनि भारतबाट आयात बढेको र वितरण प्रणाली व्यवस्थित गरिएको नेपाल आयल निगमले जनाएको छ।

    निगमका एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) को रिफाइनरीबाट अहिले पनि दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोडिङ भएर आउने गरेको छ। ७.१ किलोग्रामबाट १४.२ किलोग्राममा रूपान्तरण हुँदा केही समस्या आए पनि बढीमा एक साताभित्र अवस्था पूर्ण रूपमा सामान्य हुने उहाँले जानकारी दिनुभयो। निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास भण्डारण गर्न आग्रह गरेको छ।

    पश्चिम एसियाको परिस्थितिलाई ध्यान दिँदै निगमले यस अघि गत फागुन २९ गतेदेखि ७.१ किलो ग्यास भरिएको आधा सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो। यद्यपि, उपभोक्ताले आधा सिलिन्डरभन्दा १४.२ केजीकै सिलिन्डर बढी रुचाएको पाइएको छ। फागुनदेखि असार ३१ गतेसम्मको चार महिनामा ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको थियो।

    एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पनि पछिल्लो समय आयात नियमित र बढेको हुनाले बजारमा ग्यासको बिक्री सहज हुँदै गएको बताउँदै अनावश्यक सञ्चिती नगर्न अपिल गर्नुभएको छ। नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ।

    बढ्दो आयात र कूटनीतिक पहल
    हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको छ। गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको तथ्याङ्क रहेकोमा पछिल्लो २२ दिनमा ३९ हजार ७ सय ७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ। यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ।

    चाडपर्वमा ग्यासको अभाव हुन नदिन सरकारले तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास गरिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रतिनिधिसभा बैठकमा माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनुभएको थियो। नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।

    मन्त्रीसहितको टोलीद्वारा अनुगमन तीव्र
    ग्यासको बिक्री वितरणलाई सहज बनाउन उद्योगमन्त्री गौरीकुमारी यादवसहित निगमका उच्च अधिकारीले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पार्नुभएको छ। शनिबार मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्दै बोटलिङ र वितरण प्रणालीबारे जानकारी लिनुभएको छ।

    साथै, टेकुस्थित निगम परिसर नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षणसमेत गरिएको छ। बजार अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव र कालोबजारी नभेटिएको निगमले जनाएको छ।

    क्विक रेस्पोन्स टिमद्वारा गुनासो सम्बोधन
    निगमको केन्द्रीय कार्यालयमा सञ्चालनमा ल्याइएको ‘क्विक रेस्पोन्स टिम’ ले ग्यास नपाएको भन्ने उपभोक्ताका ५०० भन्दा बढी गुनासालाई सम्बोधन गरिसकेको छ। वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी सो टोलीले उपभोक्ताको गुनासाका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ