काठमाडौं : अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा आजबाट ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु हुँदैछ। आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहनेछ।
आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। अघिल्ला संस्करणभन्दा यस वर्षको प्रदर्शनीलाई अझै ठूलो, भव्य र व्यवस्थित बनाइएको दाबी गरिएको छ।
एक्स्पोका मुख्य विशेषताहरू :
एक्स्पोमा कुल ५३ ब्रान्ड का उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटो-सम्बन्धी उत्पादनहरू पहिलोपटक सार्वजनिक गरिनेछन्।
विद्युतीय (EV) तथा इन्धनबाट चल्ने दुईपांग्रे, चारपांग्रे र अन्य विभिन्न अटोमोबाइल उत्पादनहरू अवलोकन गर्न सकिनेछ। आगन्तुकको सुविधालाई ध्यानमा राख्दै सहज आवतजावत, पर्याप्त पार्किङ, टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट तथा अटोमोबिलिटीसम्बन्धी लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ।
नयाँ प्रविधि र नवीन उत्पादनहरूको प्रस्तुतिले नेपालको अटोमोबाइल बजारलाई थप चलायमान र गतिशील बनाउने आयोजकको अपेक्षा छ।



