काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यावसायिक विकास र बीमा क्षेत्रको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आफ्ना उत्कृष्ट अभिकर्ताहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियरमा शुक्रबारदेखि आइतबारसम्म आयोजित विशेष कार्यक्रममा देशभरका सफल अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य अभिकर्ताहरूको मेहेनतको कदर र उनीहरूलाई प्रोत्साहन गर्नु रहेको थियो।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्टहरूलाई विशेष सम्मान गरिएको थियो। जसमा अन्तर्राष्ट्रियस्तरको एमडीआरटी (MDRT) लक्ष्य पूरा गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि विजेताहरू तथा व्यवसाय वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने सिनियर एजेन्सी म्यानेजरहरू परेका छन्। उनीहरूको समर्पण र कम्पनीप्रतिको व्यावसायिक निष्ठाको उच्च कदर गर्दै समारोहमा सबै सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
अभिकर्ताहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि कार्यक्रममा विशेष सत्रको समेत आयोजना गरिएको थियो। उक्त सत्रमा देशका प्रतिष्ठित मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीको उपस्थिति रहेको थियो। उहाँहरूले सहभागीहरूलाई स्वास्थ्य, सुखमय जीवन र पेशागत विकासमा टेवा पुर्याउने खालका अत्यन्तै उपयोगी एवं उत्प्रेरणामूलक प्रस्तुतिहरू दिनुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरू नै कम्पनीको सफलताको मुख्य मेरुदण्ड र आधार स्तम्भ भएको बताउनुभयो। उहाँले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको जिम्मेवारीको उच्च प्रशंसा गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि उत्कृष्ट काम गर्ने अभिकर्ताहरूको मनोबल बढाउनका लागि यस्ता प्रोत्साहन र सम्मानका कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
समारोहको अन्तिम चरणमा व्यवसाय विस्तारका नयाँ सम्भावना, आगामी रणनीति र ग्राहकहरूलाई कसरी थप गुणस्तरीय सेवा प्रदान गर्ने भन्ने विषयमा घनीभूत छलफल गरिएको थियो। देशभरबाट आएका सहभागी अभिकर्ताहरूबीच अनुभव आदान–प्रदानका साथै सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्र समेत सञ्चालन भएको थियो। आफ्ना अभिकर्ताहरूको क्षमता विकास र मनोबल उच्च राख्दै रिलायबल नेपाल लाइफले बीमा क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमको केहि झलकहरु :


















