कात्तिक २२,पोखरा : पर्यटकीय पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश गरेको छ।
व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले बुधबार उक्त आदेश गरेको हो। देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा चौबिसै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिनेछ भन्ने व्यवस्था भएको भनी देवीकुमारी बरालले निषेध परमादेशसमेतको माग राखेर कात्तिक २१ गते रिट दायर गर्नुभएको थियो।
अदालतको आदेशमा विपक्षीहरूलाई सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत भनिएको छ। रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गर्नुभएको थियो।




