रोल्पा: रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारामा गएराति गएको पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको छ।
पहिरामा परेर थबाङ-५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको यसअघि नै ज्यान गएको थियो। उद्धारका क्रममा बिहीबार बिहान ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पठाउने तयारी भइरहेको छ।
प्रहरीका अनुसार घटनास्थलमा अझै नौ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा:
जुनकुमारी पुन मगर
९ वर्षीय अशिम पुन मगर
६ वर्षीय अशोक पुन मगर
७५ वर्षीय डलबहादुर पुन मगर
८० वर्षीय अजम्बर पुन मगर
७८ वर्षीय बलबहादुर पुन मगर
७२ वर्षीय लिलबहादुर पुन मगर
७१ वर्षीया मनि पुन मगर
६७ वर्षीया हस्तकला रोका मगर
घटनास्थलमा बिहीबार बिहानैदेखि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहितको टोली खटिएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको टोली पनि उद्धारमा जुटेको छ।
नेपाली सेना र सशस्त्र प्रहरी: नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्का र सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थलमा पुगेको छ। अविरल वर्षाका कारण पहिरो थप खस्न सक्ने उच्च जोखिम कायमै रहे पनि सुरक्षाकर्मी र स्थानीयवासीहरूले उच्च सतर्कताका साथ बेपत्ताहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेका छन्।



