काठमाडौँ : देशको प्रमुख रिटेल चेन सुपरमार्केट भाटभटेनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्ना स्टोरहरूलाई चौबीसै घण्टा सञ्चालन गर्ने भएको हो । यसको सुरुवात परीक्षण परियोजना (पाइलट प्रोजेक्ट) का रूपमा भक्तपुर शाखाबाट गर्न लागिएको छ जुन आज भदौ १ गतेदेखि चौबीसै घण्टा खोल्ने निर्णय भएको हो।
अहिलेसम्म बिहान ७:३० बजेदेखि राति ९ बजेसम्म मात्र सञ्चालन हुँदै आएकोमा अब भक्तपुर स्टोर २४ सै घण्टा खुला रहनेछ। यसबाट ग्राहकले जुनसुकै समयमा सहज रूपमा किनमेल गर्न सक्ने विश्वास गरिएको छ।
मुख्य विशेषताहरू :
व्यवस्थापनमा सहजता : यसअघि दिनको समयमा स्टोर खुला रहेका बेला सामान मिलाउने, स्टक भर्ने, मूल्य सूची राख्ने र सरसफाइ जस्ता व्यवस्थापकीय काम गर्दा ग्राहकलाई केही असहजता हुने गरेको थियो। अब रात्रिकालीन समयमा ती सबै काम सम्पन्न गरिनेछ।
कर्मचारीलाई प्रोत्साहन : रात्रिकालीन समय (नाइट ड्युटी) मा खटिने कर्मचारीहरूको लागि छुट्टै विशेष टिम गठन गरिएको छ। उनीहरूलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक तथा चिया–खाजाको सुविधा उपलब्ध गराइनेछ।
योजना : भक्तपुरको यो परीक्षण सफल भएपछि उपत्यकाका अन्य शाखाहरू जस्तै बौद्ध, टंगाल, कोटेश्वर, पाटन तथा उपत्यका बाहिरका पोखरा, बुटवल र नारायणगढलगायत प्रमुख सहरहरूमा पनि यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।